काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा सिधा उडान भर्ने भएको छ । काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी निगमले शनिबारदेखि टिकट बुकिङ समेत खुला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगमको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो । उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने बताइएको छ । यस्तै, बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले बताए ।
निगमका अनुसार काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ । निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ ।