काठमाडौं । नेपाल राष्ट्र बैंकले छ अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले यसअघि जारी भएको ट्रेजरी बिल परिपक्व भएपछि पुनः नवीकरण गर्न लागेको हो । यसका लागि आज (सोमबार) दिउँसो तीन बजेभित्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल मंगलबार जारी हुनेछ ।
ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, गैरबैंक वित्तीय संस्था, संगठित संस्थाका साथै नेपाली नागरिक बोेलकबोलमा सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले ९१ दिन अवधिको चार अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । ९१ दिन अवधिको ट्रेजरी बिल मंसिर ५ गते र तीन सय ६४ दिन अवधिको २०८१ भदौ ४ गते परिपक्व हुनेछन् ।
राष्ट्र बैंकले यसअघि साउन २९ गते २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको आठ अर्ब र एक सय ८२ दिन अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।