काठमाडौं, वैशाख १९
सरकारले हालसम्म १२ हजार ११ जना व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पीसीआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा विहीबारसम्म १२ हजार ११ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । त्यसैगरी सरकारले -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ४६ हजार ८ सय ६० वटा नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ६ सय ८२ वटा परीक्षण भएका छन् ।
मन्त्रालयको अनुसार हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फकिएसकेका छन् भने बाँकी उपचाररत छन् । हालसम्म विराटनगरमा ३१, विरगञ्जमा आठ, धनगढीमा एक र भरतपुरमा एक जना गरी ४१ जना कोरोना सङ्क्रमित व्यक्ति उपचाररत छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २३ हजार ३३६ रहेको छ । अहिलेसम्म आइसोलेसनमा ८० जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर ७७ जना रहेका छन् । रेड जोनमा हालसम्म ३१२ जना रहेका छन् । त्यसैगरी दक्षिण कोरिया र चीनबाट ग्लब्स, थर्ममिटर, माक्स, पिपिइलगायतको स्वास्थ सामग्री आइपुगेको मन्त्रालयका प्रवक्ता देवकोटोले जानकारी दिनुभयो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य विभागलाई प्रदान गरेको छ ।