भारत । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको उत्पादनमा कमी आएपछि निर्यात घटाई आन्तरिक बजारमा महँगी नियन्त्रण गर्ने उद्देश्यले भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको हो । भारतीय अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्याजमा लगाइएको निर्यात कर आगामी डिसेम्बर अन्तिमसम्म कायम रहनेछ ।
भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । भारतले निर्यातमा कडाइ गर्दा विश्व बजारमा प्याजको मूल्य बढेर जान्छ । भारतमा गोलभेडा र प्याजको उत्पादन घटेका कारण मूल्य बढिरहेको छ । निर्यात रोकेर आन्तरिक आपूर्ति सहज बनाई मूल्यवृद्धि नियन्त्रण गर्ने रणनीतिअनुरूप भारतले प्याजमा निर्यात कर लगाएको हो । निर्यातमा कर लगाएपछि भारतीय बजारमा निर्भर नेपाललगायतका मुलुकमा प्याजको मूल्य बढ्नेछ ।