सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । उनी सर्वोच्चका ३०औँ प्रधानन्यायाधीश भएका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कायममुकायम प्रधानन्यायाधीशमा कार्यरत श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।
श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतरूपमा सोमबार नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । ६५ वर्षे उमेरहदका कारण २०८१ साल मंसिर २१ गतेसम्म प्रधानन्यायाधीश बन्न पाउने श्रेष्ठलाई साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।