धनगढी । २०७२ सालमा भएको थरुहट र थारुवान आन्दोलनका क्रममा टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ ।
अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषि ठहर भएका रेशमलाल चौधरीले साउदको सालिक अनावरण गरेका हुन् । मृतक साउदको स्मृतिमा बिहीबार टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर सालिक अनावरण गरिएको हो ।
रेशमलालसहित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउदका बाजे जंग साउद र बुवा आमाले सालिकको संयुक्त रूपमा अनावरण गरे । रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।
रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउद आफ्नो पनि बच्चा भएको बताए । उनले साउदका बुवा नेत्रलाई अंकमाल गर्दै अझै पनि आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने धारणा राखेका थिए ।
थरुहट–थारुवान र अखण्ड सुदूूरपश्चिम आन्दोलनका क्रममा ८ वर्ष अघि भएको हिंसात्मक घटनामा नाबालक साउद, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।