काठमाडौं । सानिमा बैंक र दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले ग्राहकका लागि दराजसँग ’दराज मन्थ्ली पे डे’ योजनाअन्तर्गत विशेष छुट दिने सम्झौता गरेको हो ।
सम्झौताअनुसार ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको सात गते विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम सात सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । छुट प्राप्त गर्न ग्राहकहरूले दराज एपमा भौचर संकलन गर्नुपर्ने बैंकले जानकारी दिएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकका अनुसार यो छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुरू गरी सक्नुपर्ने बताइएको छ । बैंकले हाल देशको सातवटै प्रदेशमा एक सय ३२ वटा शाखा कार्यालय तथा एक सय २३ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।