दोलखा, भदौ दोलखाको मेलुङ र तामाकोसी पालिकाले पालिका भित्रका उद्यमी कृषकलाई बैंक मार्फत सहुलियतपूर्ण ऋण कर्जा उपलब्ध गराउने भएका छन्।दुई पालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकहरूलाई सहुतियतपूर्ण ऋण प्रवाहका लागि हिमालयन, प्रभु र लक्ष्मी सनराज बैंकबीच सम्झौता गरेका हुन् ।
कर्जाका लागि तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार थोकर र तीनवटै बैंकका प्रमुख तथा प्रतिनिधिबीच हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी उत्पादन एवं रोजगारी बढाउन, देशभित्रै रोजगारी सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरूको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्ने उदेश्य सहित बैंक संग सम्झौता गरिएको मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले बताए ।
कर्जाले विपन्न कृषकलाई वित्तीय पहुँचका माध्यमद्वारा कृषि र पशुपालन क्षेत्रमा सहयोग पुग्ने पालिकाको विश्वास छ। योसँगै अब दुई पालिकामा उद्यम गरिरहेका वा उद्यम गर्ने कृषकहरूलाई सहुलियतपूर्ण ऋणका लागि प्रक्रिया सुरु हुने पालिका अध्यक्ष थोकरले बताए। उनले बैंकले ऋण प्रवाह गर्दा वास्तविक उद्यमी पहिचान गरी ऋण उपलब्ध गराउन बैंकलाई आग्रह गरेका छन्।
कर्जा प्रवाहमा उद्यमी तथा कृषकलाई विनाझन्झट कर्जा प्रवाह गर्न थोकरले अनुरोध गरेका छन्। विगतमा पनि बैंकहरूले कर्जा प्रवाह गर्दा नागरिकले धेरै समस्या खेपेको भन्दै यस्ता समस्या समाधान गर्दै काम गर्नुपर्ने तामाकोसी गाउँपालिका अध्यक्ष केसीको भनाइ छ। सामुदायिक विकास मञ्च नेपाल दोलखा र असल शासन समन्वय समितिको समन्वयमा कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।रासस