दाङ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा उपमेयरले कर्मचारीमाथि हातपात गरेको भन्दै ताला लगाइएको छ । पालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीमाथि नगरपालिका उप-प्रमुख बिमलकुमार पुनले हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले आइतवार तालाबन्दी गरेका हुन् ।
कर्मचारीहरुले मूल गेटमै ताला लगाएपछि नगरपालिकाका सबै सेवा ठप्प भएका छन् । कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाहीे गरी प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखेका छन् ।
कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।