काठमाडौं । पहिले एक क्विन्टलको अनुमान गरिएको र पछि तौलिँदा ६० किलो ठहर भएको सुन तस्करी प्रकरण यतिबेला सर्वाधिक चर्चामा छ । सुरुमा राजस्व अनुसन्धान विभागले पक्राउ र अनुसन्धान गरेको विषय यतिबेला सीआईबीको जिम्मा लागेको छ ।
यो अनुसन्धान कति जटिल देखिँदै छ भने तस्करीको मूल नाइकेसम्म पुग्न प्रहरीले हालै इन्टरपोलको सहयोग मागेको छ । अहिलेसम्म दुई चरणका अभियोगीहरूमा चाइनिजहरूको बढी संलग्नता देखिएको छ । त्यसमा पनि सत्तारुढ दल माओवादीका उच्चस्तरका नेतासँगको घनिष्ठता कायम भएकाहरूको संख्या बढी देखिन्छ ।
खासगरी माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा, उपमहासचिव वर्षमान पुन र उनकी पत्नी ओनसरी तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासँगको सम्बन्ध जोडिन गएको स्थिति छ ।
यो सम्बन्धमा महरा बाबुछोराको त प्रहरीले तयार पारेको प्रतिवेदनमा टेलिफोन नम्बरसहितको विवरण उल्लेख छ, जसले यी सुन तस्करी भएर आएका समयमा चिनियाँ पक्षसँग दुई÷तीन सय पटक वार्तालाप भएको बुझाउँछ ।
चुरोटको नाममा सुन ल्याउने चाइनिजसँग त आफ्नो घनिष्ठ सम्बन्ध रहेको भनी आफैँले पटक–पटक स्वीकारेको अवस्था छ । यद्यपि उनीहरूमाथि अनुसन्धान सुरु समेत भएको छैन ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गर्दाका क्रममा अरु थप विवरणहरू प्रकट हुँदै छन्, जसले तस्करीका नयाँ–नयाँ शैलीको खुलासा गर्छ । यसमा पनि चिनियाँकै संलग्नता रहेको देखिन्छ ।
पछिल्लो समय सातवटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ । विभिन्न मितिमा दर्ता भएका कम्पनीहरू भने एकै प्रकारका छन् ।
यसले चिनियाँ पक्षसँग राम्रो चिनजान भएका नेपाली नेताहरूको संलग्नतालाई निकटता दिन्छ । त्यसमा एक नेताले निरन्तर भोजभतेर गरिरहेका एक चिनियाँ अहिले जेलमा छन् ।
यहीबीचमा सुन तस्करीमा संलग्न व्यक्तिसँग पटक–पटक फोन गरेको तथ्य बाहिरिएसँगै माओवादी उपाध्यक्ष महराको चिनियाँ नागरिकसँगको पुरानो टेलिफोन संवाद अर्को अनुसन्धानको दायरामा परेको बुझिएको छ । हङकङबाट आएको साढे ६० किलो सुन बरामद हुँदाका क्रममा रहस्य खुल्दै जाँदा यस क्रममा भएको टेलिफोन वार्ताजस्तै यसअघि बरामद भएको नौ किलो सुन तस्करी प्रकरणमा उनको नाम प्रत्यक्ष जोडिन गएको थियो ।
त्यसबेला सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनले पटक–पटक फोन सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनमा नै उल्लेख छ । यही क्रममा महराको पुरानो एउटा टेलिफोन संवादबारे पनि कुरा उठ्न थालेको छ ।
त्यसबेला सांसद खरिदका लागि महराले चिनियाँ नागरिकसँग रकम मागेको अडियो ‘नेपाल वान टेलिभिजन’ले सार्वजनिक गरेको विवरण अहिले सुन तस्करीसँग जोडिएर आएको धेरैले आशंका गरेका छन् । २०६७ भदौ १८ गते सार्वजनिक भएको अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ मागेको उनकै स्वरबाट सुनिन्छ । त्यसका लागि उनी हङकङ जान पनि तयार भएका थिए ।
यसमा उनले एक सांसदबराबर १० लाख नेपाली रुपैयाँ मागेकोमा एक सय लाख दिन तयार भएको वार्तालापले बुझाउँछ । त्यसबेला यतिठूलो रकम लगानी गर्न तयार चिनियाँ पक्ष सुन तस्करीमा उनीसँग लाभ लिन खोजेको जस्तो घटनाहरूले देखाउँदै गएको मानिएको छ ।
महरा र चिनियाँ नागरिकबीचको त्यो टेलिफोन संवाद
चिनियाँ : चुनाव आउँदै छ भन्ने सुनिन्छ, के हुँदै छ ?
महरा : हो, चुनाव निकट आएको छ । तर, कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन ।
चिनियाँ : के माओवादीले राम्रै स्थान ल्याउला भन्ने सोच्नुभएको छ ?
महरा : त्यस्तो सम्भावना छैन । तर, हामीले प्रयास गरिरहेका छौँ । धेरै गाह्रो छ ।
चिनियाँ : केले समस्या बनाएको हो त ?
महरा : हामीसँग १० देखि १५ वटा त पहिल्यै छन् । ५० हाराहारी आउँछ होला ।
चिनियाँ : अर्को ५० चाहियो हैन त ?
महरा : हो, पाँचलाई सुन्ना ५० ।
चिनियाँ : तपाईँहरूलाई ५० सिट ल्याउन कस्तो खालको सहयोग गर्न सक्छौँ त ?
महरा : योचाहिँ अलि गाह्रै काम हो किनभने दक्षिणले उनीहरूलाई सहयोग गरिरहेको छ । दक्षिणलाई ‘न्युट्रलाइज’ गर्न र दोस्रो कुरा केही पैसा चाहिन्छ ।
चिनियाँ : कतिजति चाहिन्छ होला ?
महरा : म यसै भन्न सक्दिनँ । मैले यसबारे अध्यक्षसँग कुरा गर्नुपर्छ ।
चिनियाँ : मेरा एक जना साथी छन् । जसले तपाईँलाई सहयोग गर्ने कुरा गरिरहेका छन् । भेटेर कुरा गर्नुपर्छ ।
महरा : भेट्नका लागि तपाईँलाई कहाँ पायक पर्छ ?
चिनियाँ : हङकङ हुन्छ ?
महरा : उनले कोसँग भेट्न चाहेका हुन् ?
चिनियाँ : तपाईँ र अध्यक्षसँग मात्रै, अरूसँग होइन ।
महरा : तर, हाम्रो अध्यक्षलाई आउजाउ गर्न साह्रै गाह्रो छ । उहाँ हङकङ जानुभयो भने सबैले उछाल्छन् । किनभने उहाँ पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीको उम्मेदवार पनि हुनुहुन्छ ।
चिनियाँ : त्यसो भए तपाईँले उहाँको प्रतिनिधित्व गर्दै मेरो साथीलाई भेट्न सक्नुहुन्छ कि !
महरा : हुन्छ हुन्छ । म जहाँ आउन पनि तयार छु । म यहाँ, त्यहाँ, जहाँ पनि जान सक्छु तर यो सन्देश उहाँकहाँ पु-याउनै पर्छ । उहाँलाई निम्ता पुग्नुप-यो र अनि उहाँले मलाई पूर्ण जिम्मेवारी दिनुहुन्छ ।
चिनियाँ : हाम्रो योजना के छ भने पहिला हामी तपाईँसँग भेट्न चाहन्छौँ । हामी सबै कुरा विस्तृतमा गर्नेछौँ । ५० सिट ल्याउन के सहयोग गर्न सकिएला भनेर छलफल गर्नेछौँ ।
महरा : त्यसका लागि महत्वपूर्ण ठाउँ चीन नै हुन्छ होला । चीनको छेन्दुमा । छेन्दु राम्रो ठाउँ हो । कसैलाई थाहा पनि हुँदैन ।
चिनियाँ : तर यो संवेदनशील विषय हो, हामी वर्तमान सरकारसँग कुनै खालको हस्तक्षेप चाहँदैनौँ ।
महरा : त्यसो हो भने सिंगापुर अर्को ठाउँ छ नि !
चिनियाँ : सिंगापुर कि हङकङ ?
महरा : हङकङमा धेरै नेपाली छन् । त्यहाँ उनीहरू हुन्छन् । त्यसैले सिंगापुर नै राम्रो हुन्छ ।
चिनियाँ : ल म आफ्नो साथीसँग कुरा गर्छु ।
महरा : आज साँझ म तपाईँलाई फोन गर्छु, हुन्छ ?
चिनियाँ : हुन्छ हुन्छ । हङकङमा सम्भव हुन्छ कि भन्ने हेर्नुहोला ।
महरा : हुन्छ, म यही नम्बरमा तपाईँलाई फोन गर्छु ।
चिनियाँ : हुन्छ, ल म तपाईँको फोनको प्रतीक्षामा हुन्छु ।
महरा : हुन्छ, तपाईँले आफ्नो स्रोतबाट अध्यक्षज्यूकोमा पनि सन्देश पु-याउनुहोला ।
चिनियाँ : के तपाईँले मलाई अध्यक्षसँग पनि कुरा गरोस् भन्न चाहनुभएको हो ?
महरा : हुन्छ, म फोन गर्छु ।
चिनियाँ हुन्छ हुन्छ ।