काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई सोमबार विभिन्न स्थानबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले जानकारी दिएका छन् ।
केसीका अनुसार पक्राउ परेकामध्ये सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु. एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु. दुई लाख ठगी गरेको, मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु. दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट रु. पाँच लाख ४५ हजार ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक रु. ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु. एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।
यसैगरी गुरुङले प्रलोभनमा पारी एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु. एक लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितबाट पटकपटक गरी रु. तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।