काठमाडौँ । सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको सोमवार शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् ।
प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । उनले स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि बताए ।
श्रेष्ठले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताए । साथै उनले सर्वोच्च अदालतभित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको पनि जानकारी गराए । आगामी दिनमा यो प्रणालीलाई काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उनले बताए ।