काठमाडौं, वैशाख २१
विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउको समयमा हुुण्डी कारोबार गर्ने दुुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १३ टंकेश्वर र काठमाडौं महानगरपालिका १२ स्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुुई जनालाई नगद २४ लाख २१ हजार रुपैयाँसहित शनिबार बिहान पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उक्त रकममध्ये गुप्ताको साथबाट छ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।
उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा संलग्न उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।