काठमाडौं । अग्नि मोटोइङ्कले महिन्द्रा पावरोलका ग्राहकलाई फ्रि सर्विस कुपन उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार यो सेवा कुपनले महिन्द्रा पावरोलका ग्राहकले विभिन्न लाभ लिन सक्ने बताइएको छ ।
यस सेवाअन्तर्गत निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घण्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रममा फ्रि सर्विस कुपनको औपचारिक शुभारम्भ गरिएको थियो । सो कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो ।
भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रूत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउँदै लैजाने योजना बनाएको छ । टेलिकमबाहेक महिन्द्रा पावरोल डीजी सेटहरूले नेपाली बजारमा विभिन्न प्रकारका उद्योगहरू, बैंक, भवन निर्माण, सार्वजनिक निकाय, अस्पतालहरू, होटलहरू, व्यक्तिगत घरहरूका ग्राहकलाई निरन्तर पावर तथा सेवा प्रदान गरिरहेको जनाएको छ ।