काठमाडौं । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बजार ठोसरूपमा चलायमान हुन नसक्दा यसको असर बैंकिङ क्षेत्रको कर्जामा देखिएको छ । अर्थतन्त्र सुस्त हुँदा आम नागरिकको क्रयशक्ति कमजोर बनेको छ । महँगीले गर्दा आम्दानीको ठूलो हिस्सा उपभोगमा नै खर्च गर्नुपर्ने अवस्था छ । यसको असर वस्तु तथा सेवा बजारमा परेकाले दैनिक उपभोग्य वस्तुबाहेकका अन्य वस्तु तथा सेवाको व्यापार प्राय सुस्त छ । यही सुस्तताका कारण बजार चलायमान हुन नसक्दा बैंकबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूको कर्जाको साँवाब्याज तिर्नसक्ने क्षमतामा कमी आएको छ । यो कमीका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको छ ।
बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० बैंक तथा वित्तीय संस्थाहरूले कुल ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव शून्य दुई प्रतिशत निष्क्रिय कर्जा देखिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा देखिएको यो औसत खराब कर्जा आर्थिक वर्ष २०७८/७९ को तुलनामा दुई प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा फाइनान्स कम्पनीहरूले ४७ खर्ब नौ अर्ब पाँच करोड रूपैयाँ कर्जा प्रवाह गर्दा औषतमा एक दशमलव ३१ प्रतिशत मात्र खराब कर्जा देखिएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले कुल ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रूपैयाँ निक्षेप संकलन गरी झण्डै ४९ खर्ब रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन प्रतिशतभन्दा बढी कर्जा खराब देखिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूले मात्र भने ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा दुई दशमलव ९८ प्रतिशत खराब कर्जा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा भने वाणिज्य बैंकहरूले ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव २० प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/०८० मा विकास बैंकहरूमा मात्र भने औसतमा दुई दशमलव ४९ प्रतिशत खराब कर्जा देखिएको छ । विकास बैंकहरूले कुल पाँच खर्ब ७१ अर्ब ५७ करोड ३० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणमा खराब कर्जा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा भने विकास बैंकहरूले पाँच खर्ब नौ अर्ब ४९ करोड रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ३६ प्रतिशत कर्जा मात्र खराब देखिएको थियो ।
फाइनान्स कम्पनीहरूमा भने आर्थिक वर्ष २०७९/८० औसत सात दशमलव ६० प्रतिशत कर्जा खराब देखिएको छ । राष्ट्र बैंकका अनुसार उक्त आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले एक खर्ब १३ अर्ब ४२ करोड २० लाख रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ९३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा खराब देखिएको हो । अघिल्लो आर्थिक वर्षमा भने फाइनान्स कम्पनीहरूले एक खर्ब चार अर्ब ५२ करोड ८० लाख रूपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा औसतमा छ दशमलव २३ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।