काठमाडौं । यसपटक भदौ १५ गते रोपाईँजात्रा मनाइदै छ । असारे धान रोपाई गरीसकेपछि मनाइने योे जात्रा गाइजात्राको भोलिपल्ट मनाइने गरिन्छ । तर यसवर्ष तिथि तलमाथि परेपछि रोपाईँजात्रा १५ गते नै मनाइने भएको छ । काठमाडौं महनागरपालिका वडा नं. ६ बौद्ध क्षेत्रमा विशेष कार्यक्रम गरी रोपाईँजात्रा मनाइने भएको छ । सांस्कृतिक पर्व गाइजात्रा तथा रोपाईँजात्रा (घोनाई) मुल समारोह समितिको संयोजकत्वमा सामाजिक, धार्मिक र स्थानीय क्लवहरु सदस्य रहने गरी जात्रा मनाइने भएको हो ।
उक्त जात्रामा १०वटा विभिन्न विधामा प्रतिस्पर्धा गराई प्रत्येक विधामा छनौट प्रक्रियाबाट प्रथम हुनेलाई १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वनालाई २५ सय राशी नगद पुरस्कार सहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने भएको छ । प्रस्तुत गरिने विधाहरुमा रोपार, बौसे, हलगोरु, झाँकी, हास्य–व्यङ्ग्य, ख्याली, लाखे, घोडा, बाल रोपार र बाल बौसे आदि प्रस्तुत गर्ने कलाकारहरुलाई पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।
बौद्ध स्तुपको अजिमा स्थान अगाडिबाट सुरु गरिने रोपाईँजात्रा विभिन्न झाँकीसहित पंक्ति मिलाई बौद्ध स्तुप परिक्रमासँगै बौद्ध पिपलबोट हुँदैे टुसाल चोक पुगी पुनः बौद्ध स्तुप परिसरमा फर्किएर औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गरी समापन हुनेछ ।
रोपाईँजात्रालाई स्थानीय तामाङ समुदायले आफ्नो भाषामा घोनाई जात्रा भन्ने गर्दछन् । यस जात्रामा हास्यव्यङ्ग्य, झाँकी, नाचगान, लाखे घोनाई नाच आदि समावेश हुनेछन् । जसमा विद्यमान विक्रीती र विसंगतिहरुको बारेमा व्यङ्ग्य गरिन्छ । बौद्ध क्षेत्रमा रोपाईँजात्रा कहिलेदेखि मनाउन थालिएको हो भन्नेबारे आधिकारिक अघिलेख नभए पनि संस्थागत रुपमा मनाउन थालिएको करिब तीन दशक मात्रै भएको छ ।