काठमाडौं । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे दुई सय १५ औँ बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा सुरु गरी करिब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयमार्फत ७५ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब एक अर्ब रुपैयाँ बचत संकलन गरी चार अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।