काठमाडौं । नेपालको नयाँ नक्सा अनुसारको भूभाग चीन सरकारले नदेखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
बिहीबार दिउँसो चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बालेन बेइजिङतर्फ जाने तय भए पनि चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।
नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्- 'नेपाललाई नसोधीकनै चीनले नेपाली भूभागलाई भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि गलत कदम चालेको मानेका छौं । त्यसैले चीनको निमन्त्रणामा हुने मेरो ५ दिने भ्रमण मैले नैतिकताको आधारमा नजाने निर्णय गरेको छु' ।