काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’सँग विशेष सम्बन्ध भएका सुन तस्करीमा संलग्न तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले राजनीतिक नेताको संरक्षण र दबाबमा नेपाली नागरिकता लिएको देखिएको छ । दाबाले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङको नाममा नागरिकता लिएका छन् ।
दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृह मन्त्रालयले बनाएको छानबिन टोलीले नै पुष्टि गरेको छ । तर, उनलाई नागरिकता दिनका लागि राजनीतिक दलका नेताहरुले कसरी भूमिका खेले भन्नेबारेमा गृहको छानबिन टोलीले सार्वजनिकरुपमा केही भन्न चाहेको छैन । तर, समाचार स्रोतले भने माओवादी नेताहरुको सेटिङमा दावालाई नेपाली नागरिकता उपलब्ध गराइएको हो । माओवादी नेता पुनसँग खाना खाएको फोटाहरु सार्वजनिक भए पनि पुनले भने उनीसँग गहिरो सम्बन्ध नभएको भनेर सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन् । पुनसँगको आफ्नो सम्बन्धको बारेमा दावाको भनाइ भने बाहिर आएको छैन ।
दावाले २०७४ पुस २० गते काभ्रेबाट नेपाली नागकिरता लिएका थिए । वडाबाट ल्याएको सिफारिसका आधारमा उनले नागरिकता लिएको बताइएको छ । नागरिकता लिनुभन्दा केही वर्षअगाडिदेखि नै दावाको पुनलगायतका माओवादी नेताहरुसँग राम्रो सम्बन्ध थियो । घनिष्ठ सम्बन्ध भएकै कारण दावाले माओवादी नेताहरुसँग दैनिकजसोसँगै खानपिन गर्ने गरेका थिए ।
दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । दावासहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको राससले जनाएको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
अहिले उक्त सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना संकलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको राससले जनाएको छ ।
दावाको नागरिकता प्रकरणमा छानबिन गर्न साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा सहभागी थिए । समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि गरेको छ । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो ।