सोलुखुम्बु, वैशाख २१
झाडापखाला तथा कमलपित्त (जन्डिस) रोगबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानको एकै गाउँमा ४० जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन् । साबिक सल्यान गाविसको वडा नं १ र ३ को गाउँमा उक्त रोग देखिएको हो । नेचासल्यान गाउँपालिका वडा नम्बर २ वडाध्यक्ष भेषकुमार बाँस्तोलाका अनुसार साबिक वडा नं १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको छ । एकै परिवारका चारजना समेत बिरामी परेको वडाध्यक्ष बाँस्तोलाले बताए ।
झाडापखाला मात्र नभई आउँसमेत रहेको अनुमान गरिए पनि ल्याब परीक्षणबाट एकीन हुने बाँस्तोलाले जानकारी दिए । एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासित रुपमा बढ्दै गएपछि शुक्रबार जिल्लाबाट चिकित्सकसहितको टोली त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए ।
उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दूषित भएकाले नै बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहोर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाले बताए । तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताए ।
दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमन जानकारी दिए । डा. सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ । बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे पनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ ।
मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् । विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्न सक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा. अविषेक सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उनले बताए ।