काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा विभिन्न सरकारी खर्चको लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले ट्रेजरीको बिक्रीमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।
बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने सबै ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ । जारी मिति भदौ १९ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गर्न सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी बिलमा क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिन अवधिको सात अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
यीमध्ये २८ दिन अवधिको विसं २०८० असोज १६ गते, ९१ दिन अवधिको वि.सं २०८० मंसिर १९ गते, एक सय ८२ दिन अवधिको विसं २०८० फागुन २२ गते र तीन सय ६४ दिन अवधिको विसं २०८१ भदौ १८ गते परिपक्व हुने अवधि तोकिएको छ । गत साता पनि राष्ट्र बैंकले कुल १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिन अवधिको चार आठ अर्ब र ९१ दिन अवधिको सात अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।