काठमाडौं । राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल चयन भएका छन् । संस्थाको २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । सो संस्थाको निर्वतमान अध्यक्ष राहुल अग्रवाल हुन् । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरूको संस्था हो, जसको मुख्य उद्देश्यको रूपमा एडप्ट, एडप, इम्प्रूभ रहेको राउण्ड टेबलले जनाएको छ । यस संघले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरूको पहिचान गरी एडप्ट गर्छ । एडप्ट गरेका कार्यलाई स्थानीय विविधतालाई आत्मसात गर्दै निरन्तर त्यसलाई सुधार गर्दै लैजाने संस्थाले जनाएको छ ।
राउण्ड टेबल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरूमा संलग्न रहेको संस्थाले जनाएको छ । विषेश गरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
नवनिर्वाचित कार्य समितिले खासगरी आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरू विद्यालयहरूको स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम, तथा एक देश एक लाख बिरुवाको नारालाई समेत निरन्तरता दिँदै आएको संस्थाले जनाएको छ । यसका साथै विभिन्न तालिम तथा गोष्ठीको आयोजना गरी सदस्यहरूको सिप विकासका साथै सदस्यहरूबीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको राउण्ड टेबलले जनाएको छ ।