काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन् ।
बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए । यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानूनी प्रबन्ध आवश्यक रहेकामा जोड दिइएको छ ।
बैठकमा आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस् निर्णय गरिने प्रधानमन्त्री दाहालले जानकारी गराए । प्रधानमन्त्री दाहालले फोहरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने उल्लेख गर्दै त्यसका लागि ठोस् गृहकार्य गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले आमन्त्रण गरेको छलफलमा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवद्वय एकनारायण अर्याल र मणिराम गेलाल, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधि उपस्थित थिए ।