काठमाडौँ । समाजवादी मोर्चा नेपालले तीनवटा बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक सन्देश सभा गर्न लागेको छ । यही भदौ २४ गते मोर्चाले बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए ।
मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ ।
जनता समाजवादी पार्टीले कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन गर्ने तालिका छ । मोर्चामा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।