काठमाडौं । कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) र इ–सेवाबीच सेयर कारोबार भुक्तानी इ–सेवाबाटै गर्न सकिने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा कलश स्टक मार्केटका कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र इ–सेवाका प्रबन्धक हेम घिमिरेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरेका थिए । आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नवीनतम सेवा सुविधा दिन प्रतिबद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाबीच भएको यस सम्झौताले सेयर लगानीकर्तालाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोबारको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।
बैंक तथा वित्तीय क्षेत्र तथा समाजका विभिन्न पेशा व्यवसायमा सफलता हासिल गरेका लब्धप्रतिष्ठित एवम् अनुभवी व्यक्तिहरूको अगुवाईमा स्थापना भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र बुद्धनगरस्थित मुख्य कार्यालयबाट सेवा शुभारम्भ गरेको कलश स्टक मार्केटले आफ्ना ग्राहकलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । यसका साथै विश्वसनीय अनलाइन सेवाका लागि ख्याती आर्जन गर्न सफल इ–सेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्षरूपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सयवटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।