काठमाडौं, वैशाख २२
सरकारले यही वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । लकडाउन सकिने भोलिपल्ट बजेट अधिवेशन सुरु हुनलागेको हो । सरकारले २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ । लकडाउन थप गर्ने वा खोल्नेबारे सरकारले थप निर्णय भने लिएको छैन ।
प्रधानमन्त्री निवास बालुुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो ।
जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ । पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।