काठमाडौं । साताको सुरुवाती कारोबार दिनदेखि नैं घट्दै आएको सेयर बजार परिसुचक (नेप्सें) ले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । बजार परिसुचक आज २८ दशमलव ९२ अंकले ओरालो लागेर १९ सय ३२ दशमलव ४५ बिन्दुमा झरेको छ । क बर्गका क कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६५ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ५८ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट आज ३२ हजार एक सय ३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम एक अर्ब ५० करोड नौं लाख २० हजार छ सय सात रुपैंयाँ ६० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर खरिद बिक्री भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सबै सेयर बजार राताम्मै देखिएको छ ।