काठमाडौं । सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार आक्रमण गरेको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । तरुण दलका पूर्व अध्यक्ष रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गरिएको थियो ।
आक्रमणबाट घाइते भएका यादवको टाउको पछाडिको भागमा चोट लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । बिहीबार बसेको तरुण दलको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो ।
कांग्रेस भ्रातृ संस्था तरुण दलले उक्त घटनाको विरोधमा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तरुण दलले राजीनामा मागेको छ ।