काठमाडौं । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् ।
विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्न लागिएको अर्थमन्त्री महतले बताए । सो अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गरे ।
अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्ने विश्वास व्यक्त गरे । नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत उनले दाबी गरे ।
भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएपछि सरकारले चीनमा पनि सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने महतले बताए । विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र पर्यटक आगमनमा पनि वृद्धि भइरहेकोले यसबाट मुलुकको आर्थिक गतिविधि बढ्ने उनले बताए ।