काठमाडौं । ‘बाध्यात्मक रोजगारी’को उपमा पाएको वैदेशिक रोजगारीको कालो बादलको रूपमा युवाहरूको मृत्यु रहेको छ । सुनौलो सपना लिएर वैदेशिक रोजगारीमा गएकाहरू असुरक्षित बन्दै मृत्युलाई अँगाल्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने प्राय मौन बसेको देखिन्छ । जसले गर्दा हरेक वर्ष सयौँ युवा अर्थात् नेपाली श्रमिकहरूको वैदेशिक रोजगारीको क्रममा मृत्यु हुनेगरेको छ ।
वैदेशिक रोजगारीको विकल्प नरहेको बताउने वर्तमान श्रममन्त्री शरदसिंह भण्डारी र मन्त्रालयका कर्मचारीसँग वैदेशिक रोजगारीको क्रममा हुने मृत्युलाई कम गर्ने तथा नियन्त्रणमा ल्याउने कुनै स्पष्ट योजना छैन ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीको क्रममा एक हजार दुई सय आठ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ७९ जना, आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७३ जना, आर्थिक वर्ष २०७६/७७ मा छ सय ७१ र २०७५/७६ मा सात सय ६३ जनाले वैदेशिक रोजगारीको क्रममा विदेश तथा स्वदेशमा ज्यान गुमाएको सरकारी तथ्यांक रहेको छ ।
आर्थिक वर्ष २०७१/७२ मा एक हजार छ जना, आर्थिक वर्ष २०७२/७३ मा आठ सय १६ जना, आर्थिक वर्ष २०७३/७४ मा सात सय ५६ जना, आथिर्क वर्ष २०७४/७५ मा आठ सय २२ जना युवाहरूको विदेशमा ज्यान गएको छ । आर्थिक वर्ष २०६५/६६ मा ७७ जना युवाको ज्यान गएको छ । विदेशमा रहेका युवाको हृदयघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको छ । यसका साथै हत्या समेत हुनेगरेको पाइन्छ भने विभिन्न अध्ययन अनुसन्धानले सो कुरालाई पुष्टि गरिसकेको छ ।
सरकारी तथ्यांक हेर्दा वैदेशिक रोजगारीको क्रममा हुने मृत्यु भयावह देखिन्छ । जसले गर्दा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुक, कार्यस्थल, सुरक्षालगायतका बारेमा पर्याप्त जानकारी नदिँदा विविध समस्या देखिएको पाइन्छ । अर्कोतर्फ नेपाली श्रमिकको हकमा राम्रो रोजगारदाताको अभाव हुँदाँ सेवा सुविधाका साथै जोखिम कायमै रहेको पाइन्छ । नेपालीहरूको गन्तव्य मुलुक मानिएका खाडीका छ राष्ट्र र मलेसियामा नै धेरै नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ती मुलुकमा एक हजारभन्दा बढी युवाहरूले ज्यान गुमाइसकेको सरकारी तथ्यांक छ । सरकारी तथ्यांकअनुसार सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएका छन् । त्यसपछि समग्रमा कतार, यूएई, कुवेत, बहराइनलगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुक मात्र नभई अन्य मुलुकमा समेत ज्यान गुमाएका छन्, तर त्यो खाडी मुलुकको तुलनामा न्यून रहेको पाइन्छ । मलेसियामा पनि नेपाली युवाहरूको लागि असुरक्षित हो । हालसम्म चार हजारभन्दा बढी युवाहरूले मलेसियामा ज्यान गुमाइसकेका छन् । गन्तव्य मुलुकहरूले नेपाली श्रमिकको मृत्युलाई रोक्नसक्ने भए पनि त्यसलाई पूर्णरूपमा बेवास्ता गरेको छ, जसलाई नेपाल सरकारले प्राथमिकतमा राख्न नसक्दा श्रमिकको मृत्यु नियन्त्रणमा ल्याउन सकेको छैन ।
एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरूप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्नसक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्नसक्नेमा त्यसलाई नरोकेको बताएको छ । कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । अध्ययनले सन् २००९ देखि २०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली आप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जनाजतिको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालेको थियो ।
यता बोर्डले भने वैदेशिक रोजगारीको क्रममा गन्तव्य मुलुक वा स्वदेशमा मृत्यु भएका सदस्यको परिवार तथा नजिकका व्यक्तिलाई आर्थिक सहायता वितरण गरेको जनाएको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका एक हजार दुई सय आठ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ वितरण गरेको छ । आफ्नो अनिवार्य दायित्वअनुरूप आर्थिक सहयोगलाई निरन्तरता दिने क्रममा बोर्डले मृत्युपछिको आर्थिक सहायता वितरणका साथै वैदेशिक रोजगारीको क्रममा अङ्गभङ्ग वा गम्भीर बिरामीलाई आर्थिक सहायता वितरण, परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च छात्रवृत्ति सहायता, शव ढुवानी तथा व्यवस्थापन उद्धार तथा खोजतलास, शव झिकाउन र अभिमुखीकरण तालिमको लागि भन्दै ८४ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा बोर्डले अङ्गभङ्ग वा गम्भीर बिरामीलाई आर्थिक सहायतास्वरूप नौ करोड ९७ लाख आठ हजार रुपैयाँ, परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्चस्वरूप ५६ लाख रुपैयाँ, छात्रवृत्ति सहायतास्वरूप दुई करोड ८२ लाख रुपैयाँ, शव ढुवानी तथा व्यवस्थापनको लागि दुई करोड ८५ लाख ८० हजार रुपैयाँ, उद्धार तथा खोजतलासको लागि ४३ लाख १० हजार रुपैयाँ, शव झिकाउनको लागि दुई करोड ६० लाख ७५ हजार रुपैयाँ र अभिमुखीकरण तालिमको लागि तीन लाख ५४ हजार रुपैयाँ आर्थिक सहायतास्वरूप रकम वितरण गरेको छ । उक्त आर्थिक सहायता वैदेशिक रोजगारीको क्रममा तीन सय ८९ जना अङ्गभङ्ग वा गम्भीर बिरामी भएका, एक सय १२ जना परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च, दुई हजार नौ सय ५६ जनालाई छात्रवृत्ति सहायता, आठ सय ८१ जनाको शव ढुवानी तथा व्यवस्थापन, एक सय ६७ जनाको उद्धार तथा खोजतलास, तीन सय १२ जनाको शव झिकाउन र पाँच सय सात जनालाई अभिमुखीकरण तालिमको लागि सो आर्थिक सहायता वितरण गरिएको हो ।
त्यस्तै बोर्डले वैदेशिक रोजगारमा जान चाहनेलाई निःशुल्क सीपमूलक तालिम दिने, विदेशबाट फर्किएकालाई पुनः एकीकरण गर्ने र टेलिमेडिसिनलगायतका सेवाहरू समेत दिनेगरेको छ, जसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू लाभान्वित समेत भएको पाइन्छ ।