काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २५ गते अर्थात् सोमबार पुनः आठ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चका लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज पुनः ट्रेजरी बिलको बिक्रीमार्फत आठ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बिक्री हुने यो बिल पुरानो नवीकरणअन्तर्गत रहेको राष्ट्र बैंकको भनाइ छ । जारी मिति भदौ २६ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गर्न सक्ने बताइएको छ । बिक्री गरिने यो ट्रेजरी बिल ९१ दिन अवधिको रहेको छ भने परिपक्व हुने अवधि २०८० मंसिर २६ गते तोकिएको छ ।
गत साता पनि राष्ट्र बैंकले कुल २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसको लागि राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिन अवधिको सात अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गरेको थियो ।