काठमाडौं : सहकारीमार्फत ठगी गरेको आरोपमा पोखराको सूर्यदर्शन बचत तथा श्रण सहकारी संस्था लिमिटेडका कोषध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतवार जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि उनलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो । बचतकर्ताहरुको रकम हिनामिना एवं ठगी गरेर उनी फरार भएको भन्दै पिडीतहरुले उनीविरुद्ध उजूरी दिएका थिए । रम्तेल ग्यालेक्सी फोरके टेलिभिजनका संचालक जीवी राईका साझेदार समेत हुन् । पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरुले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् । पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।