काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मिटर उचाइमा रहेका प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तीर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा २०८० भाद्र ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट चार सय २२ जना भक्तजनहरू प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा दुई सय १० जनाको स्वास्थ्य परीक्षण, एक सय ४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र दुई जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।
स्वास्थ्यकर्मी र रेडक्रसकर्मीले संयुक्तरूपमा शिविर सञ्चालन गरेका थिए । विशेषतः मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण भएका बिरामीहरूको उपचार गरिएको थियो । निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।