काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फण्ड (एसईसिफ)अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौताबमोजिम बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने बताइएको छ ।
बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरूमा सहजरूपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । विगतदेखि नै बैंकले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका हुन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।