खलङ्गा (दार्चुला) । शैल्यशिखर नगरपालिका–९ नायलबाट मंगलबार दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।
प्रहरी निरीक्षक सिंहले धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।