काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । भदौ २६ गते राति १ः५० बजे बालुवाटारस्थित निवासमा हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु-याइएको थियो । त्यसलगत्तै बिहान ३ बजे अस्पतालले नेम्वाङको निधन भएको घोषणा गरेको हो ।
विसं २००९ फागुन २८ गते पिता रामबहादुर नेम्वाङ र माता अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जानसक्ने नेताको रूपमा छवि बनाउन सफल थिए । उनले संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय छ ।
नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता समेत रहेका नेम्वाङकोे पार्थिव शरीर ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
नेम्वाङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायत विभिन्न पार्टीका प्रमुख तथा वरिष्ठ नेताहरूले श्रद्धाञ्जली प्रकट गरेका छन् ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । सरकारले नेम्वाङप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिका दिन बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको पार्टी एमालेले पनि तीन दिन शोक मनाउने भएको छ ।
स्नातक अध्ययनका क्रममा २०२८/२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले)मा संगठित नेम्वाङ एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमाले उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नेम्वाङ २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नेम्वाङ विसं २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ र २०७० मा संविधानसभाका अध्यक्ष थिए । विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गरी सात महिना थुनामा बसेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पछि सामान्य प्रशासन मन्त्री बनेका थिए । २०५६ को संसदीय निर्वाचन जितेर उनले सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्ता समेत हुन् । नेम्वाङले प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए । नेपाल बार एसोसिएसनमा महासचिव बनेका नेम्वाङले राज्यबाट संविधानसभा पदक र राष्ट्रिय गौरव पदक प्राप्त गरेका थिए । गणेशमान सिंह प्रतिष्ठानले पनि उनलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गरेको थियो ।
नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाउन सफल राजनीतिज्ञ हुन् । चार पटकसम्म सभामुख हुँदा सर्वसम्मत बनेका नेम्वाङ संविधानसभाबाट नेपालको संविधान जारी गर्न समन्वयकारी भूमिका निर्वाह गरेका थिए । निकै परिपक्व, शालीन र समन्वयकारी भूमिका निभाउन सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधानसभा अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।