काठमाडौं । नेपालमा स्वीच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधिको रूपमा आईएमई मोटर्स नियुक्त भएको छ ।
अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नईमा आयोजित विशेष समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा स्वीच मोविलिटीका प्रमुख कार्यकारी अधिकृत महेशबाबु र आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दुजाले उक्त सम्झौता आईएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए । भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सिडिएरी कम्पनी स्वीच मोबिलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरू उत्पादन तथा वितरण सुरु गरेको छ । यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रूपमा स्थापना भएको थियो ।
अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भारतीय यातायातमन्त्री नितिन गड्करीले स्वीच मोविलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरेका थिए । त्यसैगरी आईएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।