काठमाडौं, वैशाख २२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको दाबी पनि कम्पनीले दिएको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्य लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछ, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । २०औं वर्ष प्रवेशको उपलक्ष्यमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरूको आफ्नो तर्फबाट आठ लाख ४७ हजार पाँच सय रूपैयाँबराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको छ ।
उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरूमा रहेका अनाथ, महिला तथा वृद्ध–वृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । यसअन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा एक लाख २१ हजार रूपैयाँ रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न, अत्यावश्य वस्तुहरू, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटरलगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेशभित्र रहेको विभिन्न अनाथाश्रम तथा वृद्धाश्रमहरूमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरू प्रदान गरेको छ । कम्पनीको सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
कम्पनीले यसअघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रकम योगदान गरिसकेको छ । २०औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायलगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरूलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे । साथै यस अवसरमा सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूले बीमा क्षेत्रमा नेपाल लाइफको माध्यमबाट पु-याएको योगदानको उच्च कदर गर्दै धन्यवाद दिनुका साथै बधाई ज्ञापन गरे ।
हाल कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन आग्रह गरे । रातपछि सधैं नयाँ बिहानी आउने हुनाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ एकजुट भै अगाडि बढेमा विजयप्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनुपर्ने विचार राखे ।
सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरे । यस विषम परिस्थितिमा सबैको सु–स्वास्थ्य र सुरक्षाको कामना पनि गरे । समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न विद्युुतीय भुक्तानी प्रणाली तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । कम्पनीको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आईपीएस तथा प्रभुु–पेबाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै फोन–पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरी नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बै.किङलगायतका माध्यमबाट अनलाइन भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।
हाल कम्पनीले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रूपैयाँ रहेको छ भने लगानी ८६ अर्ब ३३ करोड रूपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रूपैयाँ र शेयरधनी कोष आठ अर्ब ६० करोडभन्दा बढी रहेको छ । एक लाख ५४ हजार पाँच सय छ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुुई सय शाखा तथा उप शाखा कार्यालयहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार तीन सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेको जानकारी समेत कम्पनीले दिएको छ ।