काठमाडौं । नेपाली बजारमा बुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । दुई सय र तीन सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा बुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । बुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी उत्पादन गर्ने गरेको छ । बुलिङ एयर ईभी इन्डोनेसियालगायत विश्वका विभिन्न देशमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।
ग्लोबल स्मार्ट इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा बुलिङ एयर ईभी बनेको कम्पनीको दाबी छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका हुन् । बुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको रहेको र यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने पनि कम्पनीको दाबी छ । रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र एक सय रुपैयाँ खर्चमा तीन सय किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र्र ग्रुप ३१ वर्ष पुरानो व्यापारिक घराना हो ।
कम्पनीले नेपाली बजारमा छिट्टै अर्को नयाँ मोडल बुलिङ बिङ्गो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको कुरा कम्पनीका एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरदले जानकारी गराए । यो बुलिङ एयर ईभी कार खरिद गर्ने ग्राहकलाई नेपालभर उपलब्ध गराउने सुविधा छ । काठमाडौंको नक्साल, भैँसेपाटी, भक्तपुरमा आधिकारिक सोरुमबाट बिक्री भइरहेको बताइएको छ । नेपालभर रहेको ५१ भन्दा बढी चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्ने बताइएको छ । यो इन्डोनेसियाबाट आयात गरेको बलियो सिटी कार रहेको कम्पनीको भनाइ छ ।