दमौली । साउनयता जिल्लाका विभिन्न ठाउँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । डेङ्गुका कारण एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले व्यास नगरपालिकामा कार्यरत इञ्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको जानकारी दिए । उनले डेङ्गु परीक्षणका लागि दमौली अस्पतालमा किट पर्याप्त मात्रामा रहेको जानकारी दिँदै सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
प्रमुख अधिकारीका अनुसार गतवर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सय भन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले यसबाट जोगिनु नै डेङ्गुबाट जोगिने उपयुक्त उपाय भएको उनको भनाइ थियो ।
अधिकारीले भने, “एक्कासि तीनदेखि पाँचदिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सातदिनसम्म रहन सक्दछ ।” उनका अनुसार ज्वरोका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गुका लक्षण हुन् ।
डेङ्गुबाट बच्नका लागि पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर तथा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बच्ने मलम प्रयोग गर्नुपर्ने चिकित्सक बताउँछन् ।