काठमाडौं । गाडी तथा मोटरसाइकलको ‘ब्रेक सु’बाट तीन सय ६२ किलो सुन तस्करी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दाबी गरेको छ । सातवटा कम्पनीबाट तीन सय ६२ किलो सुन तस्कारी भएको सीआईबीको दाबी छ । झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा सीआईबीले उक्त तथ्य फेला परेको हो । सो ६१ किलो सुन प्रकरणमा सीआईबीले ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन पनि सिफारिस गरेको छ ।
उक्त प्रकरणमा आरोपीहरूमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्नेगरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सीआईबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइन ।
पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले दिएको जानकारीअनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका छन् ।
उक्त प्रकरणमा प्रत्यक्षरूपमा सीआईबीका ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको थियो । सीआईबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन् । अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि ‘अपरेसनल टोली’ले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, ‘लोकेसन भेरिफाइ’ गर्नेलगायत काम गरेको, अर्काे ‘डकुमेन्टेसन टोली’ले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु-याएको बताइएको छ ।
उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरुमा ‘ट्रायल’ गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको जानकारी दिए । विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहेको बताइएको छ । ती कम्पनीले ‘अटो पार्ट’मा सुन ल्याएको, हङकङमा रहेको कार्गाे कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको थियो । गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालयअगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको थियो ।