काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार रातभरि मेघ गर्जन र चट्याङसहित पानी परेको हुँदा बाढी पूर्वानुमान महाशाखाले बूढानीलकण्ठ, सुन्दरीजल क्षेत्रमा केही घन्टा ठूलो पानी परेपछि विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीका तटीय क्षेत्रमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ।
बिहीबार अपरान्हपछि काठमाडौं उपत्यकामा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यो नियमित मनसुनी गतिविधि हो, अस्वाभाविक होइन।’
नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति बागमती, गण्डकी, कोशी, मधेश, प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।