काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः नौ अर्ब चार करोड रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ गते (आज शुक्रबार) छ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८६’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले बिक्री गर्न लागेको यो ऋणपत्र चालू आर्थिक वर्ष सुरु भएदेखिको पाँचौँ हो । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरूले खरिद गर्नसक्ने राष्ट्र बैंकको भनाइ छ ।
यसअघि यही भदौ २४ गते पनि १० अर्ब रुपैयाँबराबरको छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ बिक्री गरेको थियो । भदौ १० गते पनि राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरु भएपछिको तेस्रो पटक छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ बिक्री गरेको थियो । त्यसअघि साउन २८ गते राष्ट्र बैंकले दोस्रो पटक आठ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८८ बिक्री गरेको थियो भने साउन १८ गते छ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८६ बिक्री गरेको थियो ।
आज बोलकबोल हुने ऋणत्रको निष्काशन भदौ ३१ गते हुनेछ भने २०८६ भदौ ३१ गते परिपक्व हुनेछ । ऋणपत्र खरिदको लागि आज मध्याह्न साढे १२ बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् सात अर्ब ६८ करोड ४० लाख र एक अर्ब ३५ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुनआएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले भने अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।