काठमाडौं । नेपाल बैंकर्स संघको संयोजनमा दीर्घकालीन वित्तीय लगानीसम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इन्प्याक्ट नेपालद्वारा संयुक्तरूपमा दीर्घकालीन वित्तीय लगानीसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको वित्तीय क्षेत्रलाई दीर्घकालीन वित्तीय लगानी उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्याङ्कन तथा यससँग सम्बन्धित विषयलाई समाधान गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयका साथै ईसीजी सर्टिफिकेसन कोर्षको शुभकामनाका बारेमा कार्यक्रम केन्द्रित थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा दीर्घकालीन वित्तीय लगानीको सान्दर्भिकता र यसको महत्वमाथि प्रकाश पार्दै यसबाट बैंक तथा वित्तीय संस्था मात्र नभई हरेक सरोकारवालाहरू दीर्घकालीनरूपमा लाभान्वित हुने बताए । उनले दीर्घकालीन वित्तीय लगानीका बारेमा नेपाल बैंकर्स संघको दीर्घकालीन लक्ष्यको बारेमा पनि उल्लेख गरे ।
कार्यक्रमको अवसरमा वातावरण व्यवस्थापन केन्द्र (ईमसी इन्डिया)का प्रबन्ध निर्देशक डा प्रसाद मोदकले नेपालको बैंकहरूमा ईसीजी कार्यान्वयनको वर्तमान अवस्था, प्राप्त उपलब्धिहरू र यसमा सुधार गर्नुपर्ने पक्षहरूलाई समेटेर नेपाल बैंकर्स संघ र आईआईएनको सहयोगमा गरिएको ईसीजी बेन्चमार्कको सारांश प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी कार्यक्रममा दीर्घकालीन वित्तीय लगानीसँग सम्बन्धित विविध पक्षलाई समेट्दै यसको अन्तर्राष्ट्रिय अभ्यासको बारे बार्सिलोना स्कुल अफ म्यानेजमेन्टका प्राडामार्कोस इगुइगुरेनले आफ्नो प्रस्तुति दिए ।