बाँके, वैशाख २३
नेपालगञ्ज उप–महानगरपालिकाले राहत वितरणमा अढाइ करोड बढी खर्च गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रतिपरिवार एक हजार सात सय ५० रूपैयाँको दरले खाद्यान्न सहयोग गरेको छ । आइतबारसम्म १२ हजार छ सय ४६ परिवारलाई दुई करोड २१ लाख ३० हजार पाँच सय रूपैयाँबराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी भाडामा बस्ने विपन्न घर परिवार र विद्यार्थीहरूलाई गरी आइतबारसम्म तीन हजार नौ सय ७१ जनालाई राहत वितरण गरिएको छ । प्रतिव्यक्ति एक हजार दुई सय एक रूपैयाँका दरले ४७ लाख ६९ हजार एक सय ७१ रूपैयाँको राहत वितरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीका अनुसार स्थायी रूपमा बसोबास गर्ने विपन्न घरपरिवार र भाडामा बस्ने तथा विद्यार्थीहरूलाई गरी दुई करोड ६८ लाख ९९ हजार छ सय ७१ रूपैयाँ बराबरको राहत वितरण गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले स्थायी बसोबास गरेकालाई पहिलो चरणमा राहत वितरण गरी दोस्रो चरणमा भाडामा बस्ने तथा विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमख उमा थापा मगरका अनुसार राहत वितरण कार्य केही वडामा जारी रहेको छ ।