काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको छ सय २९ औँ बैठकको निर्णयानुसार बैंकले आर्थिक वर्ष २०७९÷८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३० दशमलव ५२ प्रतिशत अर्थात् तीन अर्ब ५३ करोड ६४ हजार सात सय ९६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत अर्थात् तीन अर्ब ३५ करोड ३५ लाख ६१ हजार पाँच सय ५६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव ५२ अर्थात् १७ करोड ६५ लाख तीन हजार दुई सय ४० रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६ औँ वार्षिक साधारणसभाको स्वीकृतपश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीलाई वितरण गर्ने बैंकले जानकारी दिएको छ ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको एक भएको र बैंकले मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, छ सय आठ वटा एटीएम, एक सय नौ वटा विस्तारित काउन्टर एवम् ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।