पाटन (ललितपुर) । आइतबार ललितपुरको बज्रवाराही चापागाउँ अस्पतालको भवनको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् ।
उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकुल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन् ।
आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरुको भूमिका रहेको बताए । उनले नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको धारणा राखे ।
उनले २०५२ सालमा नेपालीको आयु सरदर ५४ वर्ष रहेकामा अहिले बढेर ७१ वर्ष पुगेको जनाउँदै आगामी दिनमा अझै यो सुचक राम्रो बनाउन हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले घना बस्तीका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिन भवन चाँडै बन्नु आवश्यक रहेकामा जोड दिए ।
रु. १७ करोड ५० लाखको लागतमा निर्माण हुने यो भवन निर्माणका लागि यस वर्ष बागमती प्रदेश सरकारबाट यस वर्ष रु. तीन करोड ५० लाखको बोलपत्र आब्हान गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी गराए ।