अमेरिका, वैशाख २३
जनरल इलेक्ट्रिक कम्पनी (जीई)ले विश्वव्यापी रुपमा रहेकामध्ये केही रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले आफ्नो उड्डयन युनिटतर्फ यो वर्ष २५ प्रतिशत अर्थात् १३ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको हो । महामारीका कारण हवाइ कम्पनीहरुले धेरै मार भोगिरहेका बेला कम्पनीको निर्णय सार्वजनिक भएको हो । यो क्षेत्र सन् २०२१ यता तंग्रिने सम्भावना कमै रहेको छ । अमेरिकामा हवाइ यात्रु माग ९५ प्रतिशतले कमी आएको छ ।
गत हप्तामात्रै बोइङले १० प्रतिशत अर्थात् १६ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तै हवाइ सामग्री आपूर्तिकर्ता स्पिरिट एरो सिस्टम होल्डिंग्सले शुक्रबार कान्सासमा थप १ हजार ४ सय ५० रोजगारी कटौती गर्ने भएको छ । निर्णयसँगै पछिल्लोपटक जीईको सेयर ४ प्रतिशत अर्थात् प्रतिकित्ता ६.२३ अमेरिकी डलरले घटेको रोयटर्सले जनाएको छ । उसले गर्नलागेको रोजगारी कटौतीले कम्पनीको ३ अर्ब डलर जोगिने बताइएको छ ।