काठमाडौं । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर भएका छन् । अर्यालमाथि १७ करोड ९३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते अर्यालविरुद्ध मुद्दा दायर गरेको थियो । यस्तै सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो । अख्तियारले अर्यालले गाविस र नगरपालिकामा काम गर्दा अकुत सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार मुद्दा फैसाला गरेको हो । अर्यालले २०३९ साल साउन १ गते राजपत्र अनंकित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा नियुक्ति भई सरकारी सेवा सुरु गरेका थिए ।