काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियाली प्रहरीको अनुसन्धानमा तानिएका छन् । चिकित्सकको प्रेस्किप्सनविनाको औषधी बोकेर कोरिया पुगेका दीपशिखालाई कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन् ।
दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएको सउलस्थित नेपाली राजदूतावासले जनाएको छ । मंगलबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले राजदूत प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनविना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ । गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सनविनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी नियन्त्रणमा परेपछि राजदूतावासले छुटाउन सहयोग गरेको थियो । दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाए पनि उनीमाथि अनुसन्धान भने जारी रहेको बताइएको छ । उनीमाथि अनुसन्धान नसकिएसम्म उनले कोरिया छाड्न पाउने छैनन् ।
राजदुतावासका अनुसार राजदूत प्याकुरेलमा एन्जाइटीको समस्या देखिएको र पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेका कारण उनले दीपशिखासँग सो औषधी मगाएकी थिइन् । सो औषधी लाने क्रममा केही कागजात नपुगेकाले दीपशिखा कोरियामा नै रहेको राजदूतावासले जनाएको छ । राजदूतावासले आवश्यक कागजात कोरियाली अधिकारीलाई बुझाइसकेको र अनुसन्धान अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।